सुर्खेत । ड्युटीका प्रहरीलाई मोबाईल चलाउन निषेध गरिएको छ । प्रहरी ऐन तथा नियमावली समेतमा जिम्मेवारीप्रति कर्तव्यनिष्ठ हुनुपर्ने व्यवस्था छ । तर, कर्णालीमा कार्यरत प्रहरी कर्मचारी ड्युटीका समयमा मोबाईल फोनमा व्यस्त हुनाले कर्तव्य पालनमा कमजोरी देखिएको छ । त्यस क्रमलाई रोक्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले परिपत्र जारी गरेको छ ।
सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लाग्न भनिएको छ । आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत भई प्रभावकारी निगरानी हुन सकोस भन्ने उद्देश्यले यो व्यवस्था सुरू गरिएको कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले बताए ।
मोबाईल नचालाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरूपयोग गर्नु बाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत हुने देखिएको छ । यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ ।