सुर्खेत । नेपाल प्रहरी समायोजनको लागि दबाब दिन कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी काठमाडौं पुगेका छन् । उनि सोमबार प्रदेश राजधानी सुर्खेतदेखि काठमाडौंतर्फ गएका हुन् । प्रहरी प्रशासनको विभागीय मन्त्रालयका रुपमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको छ ।
प्रहरी समायोजनका लागि कर्णालीका मन्त्री जिसी सहित सात वटै प्रदेशका गृहमन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामुहिक दवाव दिने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रहरी समायोजनको विषय टुंग्याउन निश्चित समय नै तोकेर ध्यानाकर्षण गराउन लागिएको कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री जिसीले बताए । उनका अनुसार आज दिउँस साढे १ बजे प्रधानमन्त्री र साढे ३ बजे गृहमन्त्री समक्ष ध्यानाकर्षण गराउने कार्यतालिका छ ।
‘प्रहरी समायोजन ऐन र सुपरीवेक्षण सम्बन्धी ऐन २०७६ सालमै संघीय संसदले पारित गरिसकेको अवस्था छ ।’ मन्त्री जिसीले भने, ‘समायोजन प्रयोजनका लागि प्रहरी अधिकारीबाट आवेदन समेत माग गरिसकेको अवस्था रहेपनि थप काम अगाडी बढ्न सकेको छैन । संवैधानिक व्यवस्था कार्यान्वयनमा ढिलाई भएका कारण ध्यानाकर्षण गराउन लागिएको हो ।’
मन्त्री जिसीले यसपटक ध्यानाकर्षणका क्रममा तोकिएको निश्चित समयभित्र समायोजनको काम नभए आफुहरुका तर्फबाट संवैधानिक बाटो अपनाइने चेतावनी दिए ।