सुर्खेत। जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा आउदै छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित आउन लागेका हुन्।
साथै, प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेत पनि प्रभावित क्षेत्र आउदै छन्।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका छन्।
भुकम्पका कारण रुकुम पश्चिम र जाजरकोटका ८० जना भन्दा बढीकाे मृत्यु भएकाे छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।