रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप–प्रमुख विमिलकुमार पुनले सोही नगरपालिकाका कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।
शनिबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा कार्यालयकै काम गरिरहेको अवस्थामा शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात भएको जनाइएको छ ।
मुसिकोट–१ स्थित त्रिभुवन जनता माध्यामिक विद्यालयको माध्यामिक तह (११ र १२) को कार्यालय संचालन तथा लेखामा पदपुर्ती लागि कामकाज गर्ने क्रममा विवाद भएको पीडित ओलीले जानकारी दिए । ‘हामी परीक्षा सञ्चालनको तयारीमा थियौं । उपप्रमुखले परिक्षा रोक्न भन्दै दवाव दिनुभएको थियो ।’ उनले भने, ‘त्यस क्रममा विवाद हुँदा ममाथि कुटपिट र दुव्र्यवहार भयो ।’
उपप्रमुख पुनले आफ्नो हातबाट कागजात खोसी लिएको ओलीले बताए ।
‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसी, प्रधानाध्यपक गोपिराम केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनारम खड्का र म बसेर परिक्षाको तयारीमा जुटेका थियौ, उपप्रमुख एक्कासी छिर्नुभयो ।’ उनले भने, ‘उहाँले मेरो र प्रधानाध्यापकको हातमा रहेको कागजात खोसेर मलाई हातपात गर्नुभयो ।’
आफुलाई कार्यसम्पादनकै क्रममा उपप्रमुखले हातपात गरेकाले कानुनी उपचार खोज्ने जानकारी दिए ।
यस बिषयमा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले आफ्नै कार्यकक्षमा कर्मचारीमाथि उपप्रमुखबाट हातपात भएको बताए ।
परीक्षा निश्पक्ष र मर्यादित बनाउने गरेर तयारी भईरहेको बेला उपप्रमुखबाट दुव्र्यवहार भएको उनको बुझाई छ ।
यस बिषयमा प्रतिक्रिया लिन उपप्रमुख पुनको फोन उठेन ।
परिक्षा स्थगित
आजै हुने भनिएको शिक्षक पदपूर्तिको परिक्षा स्थगित भएको छ । त्रिभुवन जनता उच्च माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले शिक्षक पदपूर्तिको लागि तोकिएको परीक्षा स्थगित गरिएको जानकारी दिए ।
विद्यालयको उच्च माध्यमिक तह कार्यालय संचालन तथा लेखामा पदपूर्तिको लागि लिखित तथा मौखिक परिक्षा संचालनको पूर्वतयारीका क्रममा विवाद भएपछि ‘अर्को सूचना जारी नभएसम्मका लागि स्थगित’ गरिएको अध्यक्ष केसीले बताए ।