सुर्खेत । कर्णाली प्रदेश सभा सांसद पूर्णबहादुर खत्रीले सडक मर्मत सम्भार नहुँदा कृषकले आलु बिक्रि गर्न नपाएको बताएका छन् । शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै सांसद खत्रीले दैलेखको गराँस गाउँपालिका स्थित धरमपोखरादेखि कोप्ची कचाली हुँदै जाजरकोट जोड्ने बाटो बन्द भएको बताए ।
३–४ दिनदेखि बन्द भएको बाटो खुलाईदिन स्थानीय तहलाई जानकारी गराउँदा सम्बोधन नभएको जानकारी दिए । ‘बाटो बनाउन गुराँस गाउँपालिकाका अध्यक्षलाई फोन गरेँ । निर्माण व्यावसायी, प्रदेश वा संघ सरकारले बनाउनुपर्छ म सक्दैन भन्ने जवाफ आयो ।’ सांसद खत्रीले भने, ‘सुर्खेत, दैलेख र जाजरकोटका किसानले उत्पादन गरेको ५–७ हजार क्वीन्टल आलु वीरेन्द्रनगर सम्म ल्याउने व्यवस्था नभएर आपतमा छन् । कर्णाली प्रदेश सरकारले तत्काल सम्बोधन गरोस् भन्न चाहान्छु ।’
साथै, उनले महाबु गाथ जाने बाटो मर्मत सम्भारको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । जनैपूर्णिमाको दिन मेला लाग्ने उक्त स्थलमा पुग्ने तिर्थालु भक्तजनका लागि आवागमन गर्न बाटो समयमै मर्मत सम्भार गरिनुपर्ने उनको माग छ ।