सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य एवंम् सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले एचआईभी एड्स संक्रमित व्यक्तिको उपचारका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् । आईतबार आयोजित कार्यक्रममा बोल्दै उनले कर्णाली प्रदेशमा रहेका संक्रमित व्यक्तिहरुको उपचार एव्म संरक्षणमा प्रदेश सरकारले तदारुकता देखाउनुपर्ने बताए ।
उनले कर्णालीका संक्रमित बालबालिकालाई शिक्षामा छात्रवृत्ति, यूवालाई रोजगारी, ज्येष्ठ नागारिकलाई संरक्षणका लागि ठोस योजना बनाउन आवश्यक रहेको बताए ।
प्रदेश सरकारले नीजि सार्वजनिक सामुदायिक साझेदारी कार्यक्रममार्फत सार्वजनिक सेवा र वस्तु प्रदान गर्नुपर्ने सुझाव व्यक्त गरे ।
कर्णालीमा एचआईभी एड्सबाट संक्रमितको संख्या ७१५ रहेको छ । तीमध्ये ५५ जना बालबालिका रहेका छन् । विवाहित भन्दा अविवाहित संख्या धेरै छ । जिल्लागत तुलनामा सबैभन्दा धेरै ३६२ जना सुर्खेतमा र २३५ जना दैलेखमा संक्रमित संख्या रहेको छ । ती व्यक्ति र उनका परिवारमा उच्च शिक्षा र पोषणमा समस्या भईरहेको बताइएको छ ।
अहिले उनिहरुका लागि सुर्खेत, दैलेख, कालिकोट र रुकुम पश्चिममा एआरटी सेवा विस्तार गरिएको छ भने सुर्खेतमा नविकरण प्लस सञ्चालनमा छ ।