कोशी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएका छन् । भदौं ४ गते साेमबारको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने भएका हुन् ।
भदाैं ३ गतेकाे कार्यसुचीमा समावेश गरिदिन मुख्यमन्त्री थापाले आज शुक्रबार सूचना पेश गरेका थिए ।
सभामुखको भूमिका निर्वाह गरिरहेकी उपसभामुख सिर्जना दनुवारले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा पेस गर्नेगरी तोकेकी हुन्।
थापा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उनले धारा १६८ को उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तयसका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित)को नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासका मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सचिवालयलाई सूचना दिएका हुन् ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता थापा साउन १७ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । यसअघि २१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ११ असारमा सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।
तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ ।