रुकुम पश्चिम । गत साउन १८ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का ५२ वर्षिय हस्तकली बुढाथोकी घरभित्रै मृत फेला परिन् । उनको मृत्युको कारण हत्या थियो । हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २३ वर्षिय सिर्जना बुढा पक्राउ परिन् ।
सिर्जनाले आफुले नै हत्या गरेको प्रहरी समक्ष वयान दिएकी छन् । प्रहरीका अनुसार वयानमा उनले पाँच वर्ष पहिले भएको हत्या पनि आफैले गरेको खुलासा गरिन् ।
२०७५ असार १० गते स्थानीय ४६ वर्षिय आईती बुढाको हत्या भएको थियो ।
पाँच वर्ष अघि आफुले गरेको हत्या कसैले पत्ता लगाउन नसकेपछि अहिले हस्तकलीको हत्या गरेको सिर्जनाले दिएको वयानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्मिका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले बताए ।
आईती र हस्तकलीको हत्या सिर्जनाले नै गरेको आरोपीको बयान, प्राप्त सबुत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट खुलेको डिएसपी भट्टराईले बताए ।
दुबै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै थियो । गहना र पैसा लुट्ने उद्देश्यले दुई जनाको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ ।
गत बिहिबार राती हस्तकली सुतेको अवस्थामा ढुङगा, लौरोले कञ्चटमा हानेर हत्या गरेपछि सिर्जनाले मोबाईल, नगद रुपैँया र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएको प्रहरीलाई बयान दिएकी छन् ।
डिएसपी भट्टराईका अनुसार आईतीको हत्या घटनामा सुरुमा चौखी (पिर्का)ले टाउकोमा प्रहार गरेकी थिईन् । बेहोसीमा रहेकी आईतीले प्रतिकार गर्न खोजेपछि सिर्जनाले खाटमुनि रहेको बञ्चरो र बाउसो निकालेर अन्धाधुन्द प्रहार गरेर हत्या गरेको बयानमा बताईन् ।
हत्या लगत्तै गरगहना लुटेर कोठा बाहिर ताला लगाएर सिर्जना राती नै आफ्नो घर गएकी थिईन् । आईतीको शव दुई दिनपछि अर्थात १२ गतेमात्र पत्ता लागेको थियो ।
प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्र शिर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान बढाएको छ ।
साथै, हत्या गरिएका दुबै जनाको गहना ल्याएर सिर्जनाले खलङगा बजारमा रहेका दुई वटा सुनचाँदि पसलमा बिक्रि गरेको समेत प्रहरीले पत्ता लगाएको छ ।
बिल बिनाका गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना सुन व्यवसायी समेतलाई पक्राउ गरेको छ । राप्ती सुनचाँदी पसलका शोभा कुमारी सुनार सोनी र नारायणी सुन चाँदी पसलका कृष्णबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ परेको हो । तीनै जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।