सुर्खेत । एडिज प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको महामारी फैलिने खतरा छ । विगत ८ महिनामा देशभर १२ हजार बढी व्यक्तिमा डेंगी संक्रमण भएको छ । तर, पछिल्लो ३ महिनादेखि संक्रमित दर भने बढेको छ ।
गर्मी एवम् वर्षाको समयमा डेंगी फैलने भय बढी हुन्छ । त्यसैले डेंगीबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।
अब आउने ३ महिना डेंगीको महामारी हुने डाक्टर नवराज केसीको अनुमान छ । डा. केसीले एक भिडियो सन्देश जारी गर्दै भनेका छन् – जथाभावी फालिएका प्लाष्टिकका टुक्रामा पानी जमेका कारणले पनि ‘अब आउने ३ महिना डेंगीको महामारी फैलिने पक्का छ ।’
वातावरणमा जथाभावी फालिएका प्लाष्टिकमा वर्षायाममा पानी जमेको हुन्छ । डेंगी लामखुट्टेले धमिलो पानी भन्दा सफा पानीमा अण्डा पार्ने भएकोले त्यस्तै जम्मा भएको पानीमा पार्छ । एउटा लामखुट्टेले ५–६ पटक अण्डा पार्छ र त्यसको महिनौंसम्म चक्र चलिरहने डा. केसी बताउछन् ।
हाम्रो वातावरणमा प्लाष्टिकका टुक्रा छोडेनौं भने डेंगी लामखुट्टे हुर्किनै नपाउने हुँदा प्लाष्टिक मुक्त समाज बनाउनुपर्ने उनको सुझाव छ ।
डेंगी संक्रमण भए वा नभएको एकिन गर्न नजिकको स्वास्थ्य संस्थामा गई जाँच गर्नुपर्दछ । डाक्टर अर्चना कार्कीका अनुसार डेंगी संक्रमण भएमा दुखाई र ज्वरोको लागि साधा सिटामोल खानु पर्दछ । शरिरमा पानीको मात्रा नघटोस् भनी पर्याप्त मात्रामा पानी, झोलिलो कुरा र जीवनजल खान आवश्यक हुन्छ ।
डेंगी लागेको कुनैपनि व्यक्तिमा ब्लड प्रेसर घटेन, पानीको मात्रा पुगेर ४–६ घण्टामा पिसाब निरन्तर आइराखे डराउपर्दैन । तर, प्रेसर घटिराख्यो र पिसाब निरन्तर आएन भने नजिकको स्वास्थ्य संस्था, डाक्टरसँग सल्लाह गरेर अस्पतालमै भर्ना हुन आवश्यक हुने डा. कार्कीकाे सुझाव छ ।
लक्षण के हुन्छन् ?
डेंगीको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै अन्य लक्षणहरू पनि देखा पर्दछ ।
असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
रगत जाँच गर्ने विधि नभएकाे स्थानमा कसरी थाहा पाउने ? (भिडियाे)
डेंगी संक्रमण हुनबाट बच्ने उपाय के हुन् ?
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुन पर्छ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउन पर्छ ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
पूरै शरिर ढाक्ने लुगा लगाउने । पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
घर/विद्यालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
कम्तिमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।