सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी स्वास्थ्य उपचार कोष कार्यान्वयनमा आएको छ । विद्यार्थी भर्नाका क्रममा स्वास्थ्य उपचार शिर्षकमा प्रतिवर्ष पाँच सय रुपैँया विद्यार्थीले तिर्दै आएका छन् । उक्त रकमबाट खडा भएको कोष कार्यान्वयनमा आउन सकेको थिएन ।
विद्यार्थी उपचारका लागि त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण शाखा प्रमुख पशुपति अधिकारी र प्रदेश अस्पताल सुर्खेतबीच केही हप्ता अगाडी सम्झौता भएको विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापति अक्कल बहादुर सिजापतिले बताए ।
उनका अनुसार प्रति विद्यार्थीले एक शैक्षिक सत्रमा एक लाख रुपैँयासम्मको उपचार निःशुल्क पाउनेछन् । त्यसमध्ये चिकित्सक सेवा शुल्क, प्रयोगशालामा गरिने विभिन्न परीक्षण शुल्क, रेडियोलोजीकल इन्भेष्टीगेसन/निवान, विरामी शैय्या शुल्क, अप्रेशन शुल्क र त्यसमा प्रयोग हुने सामाग्रीहरुमा लाग्ने शुल्कमा छुट हुने छ । साथै, उपयुक्त सेवा लिँदा लाग्ने कुल खर्चको १० प्रतिशत खर्च भने विद्यार्थी स्वयम्ले व्यहोनुपर्ने बताइएको छ । यी उपचारका लागि प्रदेश अस्पताल बाहेकका अन्य अस्पतालमा उपचार भएपनि सो वापतको रकम दावी भएमा उक्त कोषबाट रकम भुक्तानी हुने सभापति सिजापतिले बताए ।
साथै, नेपाल सरकारद्वारा लागु भएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितको हकमा यो उपचार कोष लागू नहुने सूचित गरिएको छ ।
विद्यार्थीको स्वास्थ्य उपचारका लागि सिफारिस हुन विद्यार्थी परिचय पत्र, क्याम्पसको सिफारिस पत्र, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्र र निवेदन आवश्यक पर्ने जनाइएको छ ।
स्ववियुको नयाँ नेतृत्वपछि आफुहरुको पहलमा कोष कार्यान्वयनमा आएको स्ववियु सभापति सिजापतिको दावी छ ।
विगतका धेरै वर्षहरूदेखि विद्यार्थीहरूले उपचार काेषका लागि पैसा तिर्दै आएका थिए तर, कार्यान्वयनमा आएकाे थिएन ।