सुर्खेत । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, प्रदेश मामिला सभापति कल्याणी खड्का र प्रदेश सभा सदस्य ईन्द्राकुमारी शाहीको भारतकाे तीर्थस्थल नैनीताल यात्राको आलोचना भएको छ । सदस्य शाहीले ‘यात्रा नैनिताल सम्म’ लेखिएको क्याप्सन सहित गाडीभित्र बसेको तीनै जनाको सामुहिक सेल्फी तस्विर आफ्नो फेसबुक अकाउन्टमा पोष्ट गरेकी थिईन् । अहिले याे क्याप्सन इडिट भैसकेकाे छ।
उनिहरु तीन जना सवार गाडी उपसभामुख न्यौपानेलाई प्रयोग गर्न दिइएको प्रदेश सभा सचिवालयको गाडी हो ।
सरकारी गाडी लिएर भारतको नैनीताल भ्रमणमा गएको भन्दै उनिहरुको आलोचना भएको हो ।
हामीले यस विषयमा उपसभामुख न्यौपाने र पोष्टकर्ता प्रदेश सभा सदस्य शाहीसँग टेलिफोनमा कुरा ग¥यौंः
‘आज बिहान ९ बजे सभामुखलाई जानकारी गराएर हिडेका हौं । मेरा घरपरिवारका मान्छेहरु कैलाली र धनगढीमा हुनुहुन्छ । उहाँहरुसँगको भेटघाट र विशेष गरी सुदूरपश्चिम प्रदेश सभाको भ्रमणका लागि आएको हुँ ।’ उपसभामुख न्यौपानेले भनिन्, ‘भारतको नैनीताल जाने मेरो कार्यतालिका छैन । जादिनँ । माननीय ज्यूहरु जानुहुन्छ होला ।’
‘उपभासमुख जाने कुरा छैन । म र सभापति माननीयज्यू नैनी ताल पुगेर फर्किने हो ।’ सदस्य शाहीले भनिन्, ‘हामी व्यक्तिगत रुपमा घुमफिरका लागि जाँदैछौं । उपसभामुखको यतै आउने अनुकूल परेकोले उहाँको गाडीमा आएका हौं । अहिले बर्दिया पुग्यौं ।’
व्यवस्था के छ?
कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ ले कानुनी व्यवस्था गरेको छ । ऐनको दफा–७ मा सवारी साधन तथा इन्धन सुविधाका बारेमा उल्लेख छ । सभामुख र उपसभामुखलाई सवारी साधन उपलब्ध गराउने उनिहरुले प्राप्त गरेको इन्धन र मोबिलको बिल भौचर बुझाउनु नपर्ने ऐनमा लेखिएको छ ।
प्रदेश सभा सचिवालय तथा कर्णाली प्रदेशका मन्त्रालायहरुको सवारी साधन प्रयोगका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्र्तगत प्रशासन तथा मानव संशाधन विकास शाखाको अनुमति लिनुपर्छ । कार्यालय प्रयोजन बाहेक अन्य सार्वजनिक बिदाका दिनहरुमा सवारी सधान प्रयोगका लागि अनुमति लिनुपर्ने शाखाका सचिव विष्णुप्रसाद कोइरालाले बताए ।
‘सुविधा पाउने पदाधिकारीहरुले देशभित्र अनुगमन निरीक्षण तथा कुनैपनि प्रयोजनका लागि गाडी प्रयोग गर्न पाउछन् ।’ उनले भने, ‘उपसभामुखले देशभित्र गाडी प्रयोग गर्नुहुन्छ । देशबाहिर गाडी लिन अन्य देशले पनि अनुमति दिदैन ।’