सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्र बाबियाचौरबाट राष्ट्रिय परिचयपत्रका लागि इकाई स्थापना हुने भएको छ । बाबियाचौरस्थित ईलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको काम हुने भएको हो ।
निर्वाचनपछिको निरन्तर प्रयासका कारण इकाई स्थापना गर्न सफल भएको त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधीसभा सदस्य हृदयराम थानीले बताए । ‘अबदेखि सुर्खेत पश्चिम क्षेत्रका जनताहरु राष्ट्रिय परिचयपत्रको कामका लागि सदरमुकाम जानुपर्ने अबस्थाको अन्त्य भएको छ ।’ उनले भनेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सुर्खेतको बाबियाचौर सहित खिजिफलाँटे, सोताङ्ग, संक्रान्तिबजार, खोटाङ्गबजार, रबी, चन्द्रौटा, जोगबुढा, बिनायक, पुचौंडी ईलाका प्रशासन कार्यालय र सिमा प्रशासन कार्यालय नाम्चे सोलुखुम्बुलाई राष्ट्रिय परिचय पत्रका लागि स्थायी स्टेशन तोकेका हो ।
राष्ट्रिय परिचयपत्रको लागि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण संकलन गर्न स्थायी स्टेशन स्थापना गरिएको विभागले जनाएको छ ।
बावियाचौर कार्यालयले सुर्खेत पश्चिमका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका अन्तरगत वडा नम्बर ६ र ७ (साविकको पोखरीकाँडा गा.वि.स.) का नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।