काठमाडौं। नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । गण्डकी बाहेकका अन्य ६ वटै प्रदेशकाे अधिवेशन गर्न मिति तय गरेकाे हाे । गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी रहेकाे जनाइएकाे छ ।
कोशी प्रदेशको अधिवेशन १२-१३ असोजमा हुनेछ। मधेश प्रदेशले ५-६ असोज र बागमती प्रदेशले ८-९ असोजमा अधिवेशन गर्ने भएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६-१७ भदौमा लुम्बिनी, २९-३० भदौमा कर्णाली र २२-२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।
अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।
प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।
प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।