सुर्खेत। वीरेन्द्रनगरले आर्थिक वर्ष २०८०/८१ मा ४० करोड ४३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा २७ करोड पाँच लाख मात्रै अनुमान गरिएको थियो । कर प्रणालीलाई सुधार गरी यसपटक राजश्व अनुमान बढाइएको उपप्रमुख निलकण्ठ खनालले बताए ।
लक्ष्य अनुसार राजश्व संकलन गर्नका लागि टोल विकास संस्था र नीजि क्षेत्र परिचालन गर्न एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।
सम्पत्ति कर, भूमीकर, घरजग्गा बहालकर, व्यापार व्यावसाय कर, जडिबुटी, कवाडी तथा जीवजस्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पाकिङ्ग शुल्क, विभिन्न सेवा शुल्क लगायतमा कर संकलन गर्न पाउने स्थानीय तहको अधिकार सूचीभित्र पर्दछन् ।
नगरपालिकाले कानून बमोजिम लिने घरवहाल कर, व्यावसाय कर जस्ता नगरका प्रमुख स्रोतका रुपमा रहेका करहरु प्रत्येक वडा कार्यालयबाट टोल विकास संस्था तथा नीजि क्षेत्रसँगको सहकार्यमा कर संकलन गरिने बताइएको छ ।
संकलित करबाट प्राप्त रकमको १५ प्रतिशत वडा कार्यालयलाई कर असूलीमा सहयोग गर्ने टोल तथा नीजि क्षेत्रलाई माग अनुसारका आवश्यक पूर्वाधार, सडक बत्ती, सरसफाई, विपद् व्यवस्थापन र अत्यावश्यक सार्वजनिक सेवा व्यवस्थापन तथा राजश्व असुलीका कार्यक्रम सञ्चालन गर्न अनुदान उपलब्ध गराईने बताइएको छ ।