सुर्खेत । वीरेन्द्रनगरमा ‘नगरबस’ सेवा सञ्चालन भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरबस सञ्चालन गर्न नसकेपनि वीरेन्द्रनगस्थित यातायात व्यावसायीहरुले संयुक्त रुपमा नगरबस सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार बिहानदेखि नगरबस सञ्चालनको औपचारिक उद्घाटन समेत गरिएको छ । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट सेवा सुरू गर्न लागिएको छ । ती गाडीहरू छुट्टाछुट्टै समितिका हुन् । सुरूआती चरणमा मुख्य राजमार्गकाे धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेसीमलसम्म नगरबसकाे रूट तय गरिएकाे छ । ती रूटमा १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्ने बताइएकाे छ। निर्धारित रुटमा यात्रु चढ्दादेखि ओर्लिने बेलासम्म २० रूपैँया भाडादर कायम गरिएको छ ।
अटोरिक्साको जोखिमपूर्ण र महँगो यात्राबाट आजित सर्वसाधारणलाई न्युनतम शुल्कमा उपत्यका भित्र यात्रा गराउने उद्देश्यका साथ यातायात व्यवसायीहरूले नै नगरबस चलाउने निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेश सापकोटाले बताए ।
उनका अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाले अटोरिक्साका लागि बनाएको न्यूनतम भाडा सम्बन्धि कार्यविधिमा रहेर नगरबस चलाउन लागिएको हो ।
अहिले अटो रिक्सा सञ्चालकले कार्यविधिमा तोकिएअनुसारको भाडादर भने कार्यान्वयन गरेका छैनन् । सुरुमा कार्यविधि बनाउँदा अटोरिक्सा तथा इ–रिक्साले प्रतिव्यक्ति न्यूनतम २० रूपैयाँ लिन पाउने र पक्की सडकमा प्रतिकिलोमिटर ५ रूपैयाँका दरले थप हुने प्रावधान थियो । कच्ची सडकमा प्रतिकिकिलो मिटर १० रुपैयाँ थप हुने प्रावधान थियो ।