सुर्खेत । दिगो वन व्यवस्थापन र जडिबुटी सम्बन्धी नीति तथा कार्यक्रममा योजना समेटिएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा “दिगो वन व्यवस्थापनः स्वच्छ र समृद्ध जीवनयापन” भन्ने सोच अनुरुप वन क्षेत्रको दीगो वृद्धि गर्ने योजना समेटिएको हो ।
स्थानीय समुदायको सहभागितामा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत “समृद्धिका लागि वन” को राष्ट्रिय लक्ष्य हाँसिल गर्न जोड दिने बताइएको छ । ।
“जडीबुटी विकास कार्यक्रम“ लाई निरन्तरता दिँदै “लेक तथा पाटन संरक्षण कार्यक्रम” सञ्चालन गर्ने योजना रहेको छ ।
काष्ठ तथा गैर–काष्ठ वन पैदावार, जडीबुटी जस्ता स्थानीय कच्चा पदार्थको उत्पादन, प्रशोधन तथा प्रवर्द्धनका लागि सहयोग कार्यक्रमलाई निरन्तरता दिने तथा जडीबुटी प्रशोधन उद्योगलाई प्रोत्साहित गर्न स्थापित जडीबुटी प्रशोधन उद्योगमा प्रदेश सरकारबाट समेत लगानी गर्ने नीति लिने घोषणा गरिएको छ ।
जडीबुटीमा आधारित उद्योगलाई बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको तीन करोड रुपैयाँसम्मको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षण गर्ने व्यवस्थाका लागि सहजीकरण गरिने जनाइएको छ । र्
“वातावरणमैत्री विकास कार्यक्रम” सञ्चालन गर्ने । सडक आसपास वृक्षारोपण गर्नुपर्ने बायोइन्जिनियरिङ प्रणाली तथा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएका सुझावहरू अनिवार्य पालना गर्ने व्यवस्था मिलाउने घोषणा गरिएको छ ।
बनपैदावार, विशेष घाँसजन्य वनस्पति र खेर जाने काठ दाउरालाई प्रशोधित गरी बनाइने जिरो कार्बन र भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी स्थानीय सामग्रीहरू निर्माण गर्ने प्रविधि र प्रयोगलाई प्रोत्साहित गर्ने । उपभोक्ता हित सम्बन्धी सचेतना कार्यक्रम र प्रभावकारी बजार अनुगमनको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।