सुर्खेत । प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा कर्णालीको पर्यटन योजनामा सुनौलो सिक्री पर्यटकीय विकास अवधारणालाई समेटिएको छ ।
कर्णालीको प्राकृतिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक, पर्यटकीय सम्भाव्य स्थलहरूको संरक्षण र सम्बद्र्धधन गर्न कर्णाली प्रदेश पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउनुका साथै रारा, फोक्सुण्डो र वीरेन्द्रनगर जोड्ने सुनौलो विभूज तथा कैलास मानसरोवर जोड्ने सुनौलो सिक्रीको पर्यटकीय विकासको अवधारणा अनुरुप आसपासका सबै क्षेत्रमा प्रकृतिमैत्री पदमार्ग लगायतका पर्यटकीय पूर्वाधारको विकास गरिने घोषणा गरिएको छ ।
रारा, फोक्सुन्डो, लिमी भ्याली, पञ्चकोशी, पञ्चपुरी, चौकुने, कृभिन्डे, स्यारप, गोतामकोट, पचालझरना जस्ता महत्त्वपूर्ण पर्यटकीय स्थलमा होमस्टे प्रवद्र्धन गरिने बताइएको छ ।
कर्णाली कैलाश पवित्र धार्मिक परिपथ, बोन सम्पदा परिपथ, चारनाथ धाम परिपथ, मस्टो परिपथ, मालिका परिपथ र पन्चकोशी धाम धार्मिक परिपथ विकासको अवधारणालाई अगाडि बढाइने जनाइएको छ ।
कर्णाली प्रदेशको राजधानी बाहिरको पर्यटकीय क्षेत्रमा कम्तीमा तीन तारेस्तरको होटेल निर्माण गरेमा होटेलसम्मको पँहुच मार्ग, खानेपानी, विद्युतीय प्रशारण लाइन जस्ता पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै कर्णाली प्रदेशमा हवाई सेवालाई नियमित, सुरक्षित, भरपर्दो र सुलभ बनाउन समन्वय र सहकार्य गरी सुर्खेत विमानस्थलको स्तरोन्नतिको लागि संघीय सरकारसँग समन्वय गरिने बताइएको छ ।
स्थानीय तहसँगको समन्वय र सहकार्यमा रक क्लाइम्बिङ्ग, क्यानोनिङ्ग, प्याराग्लाइडिङ्ग, बन्जी जम्प, च्याफ्टिङ्ग, अल्ट्रा म्याराथुन लगायतका साहसिक पर्यटकीय कार्यक्रमहरू सञ्चालन तथा प्रवर्धन गर्ने भनिएको छ ।
हिमाल आरोहण खुला गर्न र हिमाली क्षेत्रमा विद्यमान दोहोरी पर्यटकीय शुल्क हटाउन पहल गरिने तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति सहित रोजगारी सिर्जनाका लागि नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान मार्फत ट्रेकिङ्ग गाइड, टुर गाइड, माउण्टेनियरिङ्ग, –्याफ्टिङ्ग होटेल व्यवसाय जस्ता क्षेत्रमा तालिमहरू सञ्चालन गरिने बताइएको छ ।
खस राज्यको प्रवर्तक नागराजको प्रतिमा स्थापना गरी खस राजधानी सिँजालाई विशेष पर्यटकीयस्थलको रुपमा दरबार क्षेत्रको विकास गर्ने व्यवस्था मिलाउने तथा दुल्लु दरबार र जाजरकोटदरबार क्षेत्रको विकास र संरक्षणका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।