सुर्खेत । कर्णाली प्रदेशको सडक सुरक्षाका योजना अन्र्तगत आकाशे पुल निर्माण र सडक मर्मतकर्ताको व्यवस्था लगायतका योजना अघि सारिएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको हो ।
रत्नराजमार्गको वीरेन्द्रनगरस्थित सडक खण्डमा दुर्घटना बढेपछि मंगलगढी चोकमा आकाशे पुल निर्माण गर्न प्रदेश सभा सदस्य घनश्याम भण्डारीले सभामा सरकारको ध्यानाकर्षण गराएका थिए । आगामी आर्थिक वर्षमा मंगलगढी चोकमा आकाशे पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन निर्माण गर्न नीति तथा कार्यक्रममा समेटिएकोे प्रदेश प्रमुख परियारले बताए ।
मुख्यमन्त्री राजकुमार शर्माले घोषणा गरेको प्रत्येक वर्ष १० हजारलाई रोजगारी दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा प्राथमिकता दिईएको छ । त्यसका लागि सडक सुरक्षामा समेत समेटिएको छ । प्रदेश सरकारको कार्यक्षेत्रमा परेका बाह्रै महिना यातायात सञ्चालन हुने सडकहरुको नियमित सम्भार, रेखदेख र सुरक्षाका लागि प्रत्येक ३ किलोमिटरमा एक जना सडक मर्मतकर्ताको व्यवस्था गरिने घोषणा गरिएको छ ।
साथै, संघीय सरकारको समन्वयमा ‘टेरिटोरियल’ तथा कोरिडोर विकास अवधारणालाई प्राथमिकता दिँदै कर्णाली राजमार्ग, भेरी, राप्ती लोकमार्ग, थारमारे चौरजहारी, जुम्ला शहिद कामी बुढा मार्ग, भौमरी दुनै, पतारासी, रारा लिमी, कैलाश मानसरोवर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक विकास योजना तयार गरी कर्मठ कार्यान्वयन गर्ने नीति लिईने बताइएको छ ।
प्रादेशिक सडक गुरुयोजनाबाट पहिचान भएका प्रदेश निर्वाचन क्षेत्र रणनीतिक सडक, पूल, आयोजनाहरुको योजना तर्जुमा कार्यलाई अगाडी बढाईने । रणनीतिक सडकमा आवश्यकता अनुसार लगानी गरिने घोषणा गरिएको छ ।
स्थानीय तहको केन्द्रबाट जिल्ला सदरमुकाम र सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडकको स्तरोन्नती र निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ । साथै, सडक सुरक्षामा तीन ‘ई’ अर्थात ईन्जिनियरिङ, एजुकेशन र ईन्फोर्समेन्टको कार्यलाई एकसाथ अगाडी बढाउने नीति तयार गरी गुणस्तरीय सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको मापदण्ड बनाई कार्यान्वयन गरिने बताइएको छ ।
वीरेन्द्रनगर लगायतका सहरमा सडक सुरक्षाका लागि लाईटिङको व्यवस्था गर्ने विगदेखि सञ्चालित क्रमागत योजना सम्पन्न गराउनुका साथै आयोजना माग तथा छनौट विधिलाई आधार तथा मानक बनाईने बताइएको छ ।
भिडियाे हेर्नुहासः