सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको वार्षिक बजेट जनपक्षीय हुने आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले दावी गरेका छन् । उनले बिचौलियाको प्रभाव पर्न नदिई बजेट निर्माण गरिने भन्दै यस्तो दावी गरेका हुन् ।
कर्णालीमा यसअघि अनुदानमा आधारित योजनाहरु निर्माण हुने गरेका थिए । अब ती योजनाहरु बन्द गरिने उनले बताए ।
सोमबार आगामी आर्थिक वर्षको बजेटमा पत्रकारको राय सुझाव माग गरेका सिंहले अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष कम बजेट आउने जनाए । ‘बजेट सिलिङ नै घटेर आएको छ । वित्तिय र समानीकरण अनुदान कटौती हुने अवस्था छ । त्यसैले बजेट घटेर आउने छ ।’ मन्त्री सिंहले भने ।
यस अघिल्ला वर्षहरुमा विनियोजित बजेटलाई सिकाईको रुपमा लिँदै नयाँ स्वरुपमा बजेट निर्माण गरिने उनले बताए ।
‘तीन वटै तहका सरकारको महत्वलाई जोगाएर । वितरणमूखी र विचौलियाको नियन्त्रणमा लागेर जनताकाले परिवर्तनका अभाष हुनेगरी बजेट निर्माण हुनेछ ।’ मन्त्री सिंहले भने, ‘कर्णालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने । खाद्यन्नमा आत्मनिर्भर बनाउन उत्पादनलाई जोड दिनुका साथै औद्योगिकीकरणमा लगानी गर्नेगरि योजना अघि सारिनेछ ।’
कृषि उत्पादनमा भन्दापनि बजारीकरण अनुदान वितरण गर्ने, प्रदेशको क्षमताभित्र रहेका जलस्रोत आयोजना निर्माण गर्ने लगायतका योजनालाई प्राथमिकतामा राखिने मन्त्री सिंहले बताए ।
उनले बजेटमा राजनीतिक प्रभाव नरहने अर्को दावी गरे । ‘यो जनताको बजेट हो, जनताकै पक्षमा रहेर ल्याउँछौँ र सोही अनुसार कार्यान्वयन हुन्छ,’ सिंहले भने, ‘कसैको दबाब र प्रभावमा बजेट ल्याउने र कार्यान्वयन गर्ने काम हुँदैन । जनताको पक्षमा आउँछ ।’
मन्त्री सिंहले आफू मन्त्री भए देखिनै वितरणमुखी योजना र बिचौलियाको रोकथाममा लागिरहेको बताए । समयसापेक्ष यथार्थपरक बजेट ल्याउने बताउँदै मन्त्री सिंहले तत्काल कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा सरकारको ध्यान गएको जिकिर गरे ।