जाजरकोट । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिन नहुने बताएका छन्।
बुधबार जाजरकोट सदरमुकाम खलंगामा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री सिंहले जिल्लाका धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयहरूमा जनशक्ति अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै सेवा प्रवाह भने रोकिन नहुने बताए ।
मन्त्री सिंहले जनशक्ति व्यवस्थापनका लागि आफ्नो मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री सिंहले जनशक्ति अभावले बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको हो भने त्यसमा ध्यान दिइने बताए । उनले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।
योजना तर्जुमा गरेर मात्र हुँदैन, त्यसलाई नतिजामुखी बनाउनुपर्ने बताए ।
उनले प्राकृतिक विपत्तिबाहेक अन्य अवस्थामा ठेकेदार कम्पनीको म्याद नथप्न कार्यालय प्रमुखहरूलाइ निर्देशन दिए ।