गण्डकी। गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।
पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।
१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।
उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसको अडान थियो । माओवादी संसदीय दलका नेता चुमानले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा दुई बमोजिम नै सरकार गठन हुने र आफू नै पहिलो चरणमा मुख्यमन्त्री हुने दाबी गरेका थिए । चुमानले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्मको चेतावनी दिएका थिए ।
प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गरेका छन् ।