सुर्खेत । अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाउने गरिएको छ । विश्वव्यापी रुपमै मनाईने यो दिवस नेपालमा पनि स्वास्थ्य क्षेत्रको प्राथमिकतामा रहेको छ । यस वर्ष ‘शून्य औलो अबको थालनी, नवीनतम् कार्य, कार्यान्वयनमा लगानी’ मूल नारा रहेको छ ।
नेपालमा औलो रणनीतिक योजना २०१४–२०२५ कार्यान्वयनमा छ । सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने सरकारको परिकल्पना छ ।
औलोलाई आयातित र स्थानीय गरी दुई भागमा वर्गीकरण गरिएको छ । मुलुक बाहिरबाट संक्रमित भै आएकालाई आयातित र स्थानीयस्तरमै संक्रमित भएकालाई स्थानीय भनिएको हो ।
सन् २०२२ सम्म स्थानीय औलोलाई शुन्यमा पु¥याउने सरकारको लक्ष्य थियो । तर, सन् २०२३ सुरु भैसक्दापनि लक्ष्यअनुसार नतिजा आउन नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकले देखाएको छ ।
कर्णालीमा आर्थिक वर्ष २०७८/०७९ मा आयातित औलो बिरामीको संख्या ३० र स्थानीय १८ रहेको छ । यसअनुसार कर्णालीमा आयातित औलोका विरामी धेरै छन् ।
कर्णालीको धेरैजसो जनसंख्या भारत आवतजावत हुने भएकोले संख्या बढी भएको स्वास्थ्य सेवा निर्देशनालयका श्यामलाल आचार्यले बताए । उनका अनुसार भारतको महाराष्ट्र, गुजरात, उत्तरप्रदेश, पश्चिम बंगाल, दिल्ली, बिहार लगायतका क्षेत्रबाट आउने व्यक्तिहरुमा औलो संक्रमण बढी देखिएको छ ।
तर, पछिल्लो पाँच वर्षको तथ्यांकलाई केलाउदा औलो रोगका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा प्रदेशभर २०८ जना औलो रोगका विरामी रहेकोमा आर्थिक वर्ष ०७३/०७७ मा घटेर ५१ जनामा झारिएको थियो । तर आर्थिक वर्ष ०७७/०७८ मा ३४ जनाबाट औलो रोगका विरामी रहेकोमा बढेर ४८ जना पुगेको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा पनि २३ जनामा औलो देखिएको छ ।
चालू आर्थिक वर्षमा कर्णालीका हुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा औलो रोगका विरामीहरू भेटिएका हुन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् १३ जनामा रोग देखिएको हो ।
त्यस्तै हुम्लामा ७ जना, कालिकोटमा २ र दैलेखमा एक जनामा औलो रोगका विरामी भेटिएको प्रदेश स्वास्थ सेवा कार्यालयका श्याम आचार्यले जानकारी दिए ।
चालू आर्थिक वर्षमा कर्णालीका अन्य ६ जिल्लामा औलो रोगका विरामी देखिएका छैनन् । चालू आर्थिक वर्षमा सल्यान, रूकुमपश्चिम, जाजरकोट, डोल्पा, जुम्ला र मुगुमा औलोका विरामी नभेटिएका हुन् ।
कर्णालीमा चुनौती के छ ?
कर्णाली प्रदेशमा औलो रोग सम्बन्धि तालिम प्राप्त जनशक्ति नहुनु प्रमुख चुनौती रहेको छ । औलो रोग उन्मुलनका लागि प्रर्याप्त बजेटको अभाव, माग अनुसार किट्नाशकयुक्त झुल र विषादी व्यवस्थापन कठिनाइ र हिमाली जिल्लामा औलोका विरामी भेटिदा नियन्त्रणमा चुनौति देखिएको प्रदेश स्वास्थ सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए ।
औलो रोग के हो ?
औलो (मलेरिया) लामखुट्टेको टाकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । समयमै तुरुन्त उपचार नभए समुदायमा फैलिन्छ र यसले विकराल रुप लिनेगर्छ ।
संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलो रोग लाग्ने चिकित्सकहरु बताउछन् ।
औलोको संक्रमण भएपछि मुख्य लक्षण कामज्वरो आउनु हो । ज्वरो दिन बिराई वा निमित आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने साथै फियो बढ्ने, रक्तअल्पता र बेहोस हुने यसका लक्षणहरु हुन् ।
यसबाट बच्न के गर्ने ?
औलो रोगबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । त्यसका लागि झुलको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने, साँझ र रातीको समयमा सकेसम्म घरबाहिर नबस्ने, वन जंगल जाँदा लामखुट्टेको टोकाईबाट बच्न पुरा शरीर ढाक्ने लुगा लगाउने वा शरीर को खुल्ला भागमा लामखुट्टे धपाउने मलमलको प्रयोग गर्ने ।
घर, गोठ र कटेराहरुमा कीटनाशक औषधी छर्कने र छर्केको कम्तिमा ३ महिनासम्म लिपपोत नगर्ने ।
खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेको लार्भाहरु मर्दछन् । पोखरी दह, तथा नालाहरुमा लामखुट्टेको लाभ खाने माछा पाल्ने ।
परीक्षण तथा उपचार
ज्वरो आएमा औलोका शंकास्पद बिरामीहरुको रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्ने । स्वास्थ्य संस्थाबाट औलोको औषधी निःशुल्क पाइन्छ ।
औलोको उच्च तथा मध्य जोखिमको क्षेत्रमा किटनाशकयुक्त विषादी र झुल निःशुल्क पाईन्छ ।