सुर्खेत । कर्णाली प्रदेश सभा सांसद घनश्याम भण्डारीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ बमोजिम खर्च विवरण सार्वजनिक गरेका हुन् ।
दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश (क)बाट निर्वाचित सांसद भण्डारीको कुल निर्वाचन खर्च १० लाख चार हजार पाँच सय रहेको छ ।
विवरण अनुसार १० हजार नमुना पतपत्र छपाईका लागि १९ हजार रुपैँया, घोषणा पत्र स्वस्तीक छापको लागि १८ हजार दुई सय रुपैयाँ खर्च भएको छ ।
रेडियो जिङ्गल तथा मोबाईल म्यासेजमा ५० हजार २५० रुपैयाँ, ईन्धन (पेट्रोल डिजेल) मा एक लाख ५४ हजार पाँच सय, खाना नास्ता चार लाख ६० हजार ५५० रुपैयाँ खर्च भएको सांसद भण्डारीले जनाए ।
साथै, उम्मेदवार प्रचार प्रसार गाडी भाडा दुई लाख ५२ हजार, साउण्ड सिस्टम र टेन्ट हाउसका लागि ५० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
सांसद भण्डारी नेपाली कांग्रेसबाट विजयी भएका हुन् । उनले १० हजार ८२२ मत प्राप्त गरी विजय भएका हुन् ।

 
         
         
         
         
         
         
         
        
