सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार जना मन्त्री नियुक्त गरेका छन्। संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्ति गरी प्रदेश प्रमुखलाई मन्त्रिपरिषद् गठन हुन सिफारिस गरेका हुन्।
बुधबार काँग्रेस केन्द्रीय नेताको दवावमा नियुक्ति रोकिएको थियो। तर आजमात्रै नियुक्त गरिएका ती मन्त्रीलाई शर्माले हिजो (बुधबार) कै मिति उल्लेख पत्र प्रदेश प्रमुखलाई आज बुझाएका छन्।
मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा माओवादी सांसद उर्मिला विश्वकर्मालाई नियुक्त गरेका छन्।
विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री थिइन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो।
नवनियुक्त मन्त्रीहरुको १२:३० बजे शपथ खुवाउने तयारी भएको छ।