सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ बनाइएको छ । हिजो साँझ बजेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या संशोधन गरेको सरकारका प्रवक्ता एंवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बताए ।
उनका अनुसार बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को अनुसुची १ र २ मा हेरफेर गर्ने निर्णय गरेको हो । अनुसुची १ बमोजिम भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा विभाजन गरिएको छ । भने अनुसुची २ बमोजिम भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका १३ वटा र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका १२ वटा कार्यजिम्मेवारी बाडफाँड भएको छ ।
यसअघि पनि यथावत रहेका यी दुई मन्त्रालय माओवादी नेतृत्वको सरकार गठन हुँदा नेकपा एमालेसँगको राजनीतिक समिकरण मिलाउन मन्त्रालय संख्या घटाइएको थियो ।
‘उतिबेला राजनीतिक समिकरण मिलाउन संख्या घटाइएको थियो । व्यवहारिक थिएन ।’ प्रवक्ता जिसीले भने ।
मन्त्रालय विभाजनको सो निर्णय प्रदेश राजपत्रमा प्रकाशित गर्ने तयारी भएको छ । यसपश्चात यसअघि राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मालाई मन्त्री बनाउने तयारी समेत छ ।