सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले विश्व स्वास्थ्य दिवस मनाएको छ । चैत्र २४ गते (अप्रित ७ तारिख) दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । सोही बमोजिम निर्देशनालयले ७५ औं दिवस मनाएको हो ।
दिवसका अवसरमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरि कर्णालीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिइएको थियो । निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले कर्णालीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेपनि समन्वय अभावले प्रभावकारी हुन नसकेको औल्याए । ‘तीन तहका सरकार र अन्य निकायहरुबीचको समन्वय हुन सकेको छैन ।’ डा. खड्काले भने ।
जनशक्ति अभावका कारण स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नकिएको उनले बताए । अन्य प्रदेशको तुलनामा मानव विकास लगायतका सूचकहरु न्यून हुनु, सर्ने रोगहरुको प्रकोप निरन्तर रहनुका साथै नसर्ने रोगका विरामीको संक्रमण फैलिदै जादा त्यसको रोकथाम र उपभारका लागि सुविधा सम्पन्न पूर्वाधार बन्न नसक्नु कर्णालीको चुनौती देखिएको जनाए ।
उनले भौगोलिक अवस्थाका कारण हरेक वर्ष प्राकृतिक प्रकोप, सडक दुर्घटना, रुख तथा भीरबा ट खसेर हुने चोटपटकको उचित उपचार तथा पुर्नस्थापना हुन नसक्नु लगायतका चुनौती रहेको बताए ।
आगामी दिनमा दरबन्दी अनुसार थप जनशक्ति व्यवस्थापन, मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउन विशेष कार्यक्रम निर्माण गर्नुपर्ने डा. खड्काले सुझाव दिए । उनले नसर्ने रोगको रोकथाम तथा मानसिक स्वास्थ्य कार्यक्रम विस्तार, कुपोषण रोकथाम, उपचार तथा एकीकृत व्यवस्थापन, स्वास्थ्य बीमा कार्यक्रमको सुदृढिकरण लगायतको विषयमा कार्ययोजना बनाउनुपर्ने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायतका प्रतिनिधी र सुर्खेतस्थित पत्रकारहरुको सहधागीता रहेको थियो ।