सुर्खेत। नमुना समाज सुर्खेतका नाममा रकम हिनामिना गरेको आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नमूना समाजका लागि आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी रकम भुक्तानी लिएपछि उनिहरुले भ्रष्टाचारजन्य कसूर गरेको ठहराइएको अख्तियारले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पितृभक्त गिरी र हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जि.एम. भन्ने लाल बहादुर घर्ती मगर र अध्यक्ष भूमिसरा पुलामी विरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता भोला दाहालले जनाए ।
तत्कालीन प्रमुख थापाले प्रचलित कानुनसमेतलाई वेवास्ता गरि संस्थाले प्रतिबद्धता जनाएअनुसारको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र बिश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा कार्यसम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिने निर्णय गरेकोले उनि दोषी देखिएका हुन् । थापा विरुद्ध ५० लाख विगो रकम सोही अनुसारको जरिवाना र कैद सजाय मागदावी गरिएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गिरीले बिल भरपाई बिना नै भुक्तानी दिने कार्यमा संलग्न रहेको, आधिकारिकता र बिश्वासनीयताको जाँचै नगरी ३० लाख रुपैँया भुक्तानी दिएकोले सोही बमोजिमको विगो जरिवाना र कैद सजाय मागदावी गरिएको छ ।
साथै, तत्कालीन प्रमुख प्रशासकीय देवकोटाले नमुना समाज सुर्खेतले कार्यक्रम संचालन गरेको/नगरेको सम्बन्धमा अनुगमन मूल्याङ्कनसमेतको कार्य नगरी रकम भुक्तानी दिएकोले २० लाख रुपैँया बिगो जरिवाना र कैद सजाय मागदावी गरिएको छ ।
लेखा अधिकृत बुढाले प्रचलित प्रावधान बिपरीत नमुना समाजसँग सम्झौता गर्ने कार्यमा सहभागी भएको, नमुना समाजलाई पहिलो र दोश्रो किस्ता दिएकोले ५० लाख बिगो जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।
लेखापाल अधिकारीले पेस हुन आएका बिल भरपाई र कागजातहरु आधिकारिक तथा वास्तबिक हुन, होइनन् पेश भएबमोजिमका कागजातको आधारमा रकम भुक्तानी दिनुपर्ने हो होईन भन्ने समेतका कुरा वेवास्ता गरी नमुना समाजलाई २० लाख रुपैँया भुक्तानी दिएकोले सोही बमोजिमको बिगो जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।
यस्तै, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक घर्तीमगर, अध्यक्ष पुलामीले गैरकानूनी लाभ पु¥याउने बदनियतले कार्य गरेकाले उनिहरुविरुद्ध ५० लाख बिगो जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।