सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । विश्वासको मत दिनेबारेको छलफलमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले पक्षमा मत दिने बताए ।
मुख्यमन्त्री शर्मा मुख्यमन्त्री हुँदा नै समर्थन जनाए बमोजिम र अहिले बसिरहेको भूमिका अनुसार मत दिने बताए । एमाले अहिले सत्तापक्षकाे बेन्चमा बसिरहेकाे छ।
तर, नेपाली कांग्रेस भने विश्वासको मत दिने विषयमा अनिर्णीत बनेको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री शार्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिने बताए । आजै विश्वासको मत विभाजन हुने भएपनि नेता शाहीले भने मत दिने वा नदिने प्रष्ट पारेनन् ।
‘मत आवश्यक ठान्नुभयो भने केही सोचौंला’ नेता शाहीले संसदमा भने, ‘आवश्यक छैन भने मत नदिन पनि सकिन्छ ।’
प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले विश्वासको मत दिने संकेत देखाएपनि नेता शाहीले भने अझै प्रष्ट पार्न नसकेका हुन् ।