सुर्खेत । घाँटी रेटिएको अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१० बुदबुदेमा मंगलबार अपरान्ह मृत भेटिएका पुरुष विनपा–१० दिपनगर बस्ने वर्ष ४१ को ध्रुवजंग शाही भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउथे भने केही दिनअगाडी देखि विदेश जाने तयारीमा थिए । उनी मंगलबार विहान १० बजेतिर घरबाट निस्किएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको प्रवक्ता शाहीले बताए । उनका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । आफन्तको जाहेरीपछि पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान हुने बताइएको छ ।