सुर्खेत। कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार विहान करिव तीन बजेतिर प्रहरी जवान कविन्द्रराम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनको दायाँ कन्चटमा गोली लागेको छ ।
गणको ४ नम्वर प्रहरी पोष्टमा कामीको बिहीबार विहान एक बजेदेखि तीन बजेसम्मको उनकाे ड्युटी थियो ।
आफूले प्रयोग गरिरहेको एसएलआर बन्दूकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए । उनका अनुसार दार्चुलाको अपी नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरवन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धानपछि मात्रै घटनाको विस्तृत विवरण आउला,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं ।’