सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको १२ औं नगरसभा कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन् । सोमबार संचालन भएको नगरसभालाई नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्यहरुले बहिस्कार गरेका हुन् ।
नगरपालिकाका प्रमुख, उपप्रमुख र केही वडाअध्यक्षहरुले एकलौटी सभा सञ्चालन गरेपछि बहिस्कार गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
नगरसभाबाट अप्रत्यासित तरिकाले बजेट रकमान्तर गर्न थालेपछि बहिस्कार गर्नुपरेको वडा ७ का अध्यक्ष ध्रुव चपाईले बताए ।
विशेषगरी नगरपालिकाको वडा नं. ३ को बजेट रकमान्तर र योजना कार्यान्वयनका विषयमा मतभेद देखिएका छ । ‘रातो कितावमा आइसकेको बजेटलाई सोही अनुसार कार्यान्वयन गरिनुपर्छ भन्ने हाम्रो माग थियो ।’ वडा सदस्य सरस्वती रोकायले भनिन्, ‘वडा अध्यक्षले समेत मनोमानी तरिकाले काम गर्न थाले । वडाको बैठकमा सबैको सहभागीता हुनुपर्ने हो । तर, जहिलेपनि अध्यक्षको एकल निर्णय हुने गरेको छ ।’
वडा अध्यक्ष विनोदसिंह विष्टले वडा समितिसँग छलफल नगरी निर्णय पुस्तिकामा मनोमानी निर्णय लेख्ने गरेको उनिहरुको आरोप छ ।
हिलेखाली सडक बाटो स्तरोन्नती तथा कल्भर्ट निमार्णका लागि साढे सात लाख बजेट विनियोजन थियो । यसका लागि रकम कम हुन्छ भने बजेट रकमान्तर गर्न खोजियो । हामीले त्यही टोलका लागि छुट्याएको बजेट सोही सडककै अन्य काम गर्न सकिन्छ भन्ने अडान राखेका थियौं ।’ रोकायले भनिन्, ‘वडाअध्यक्षले अन्यत्र बजेट विनियोजन गर्ने अडान लिए ।’
पानीको मुहान संरक्षणका लागि विनियोजन गरिएको बजेटलाई रोडको खाल्डो पुरेर त्यसको भुक्तानी लिएको उनले आरोप लगाईन् ।
जुन शिर्षकमा बजेट विनियोजन गरिएको हो त्यही अनुसारका अन्य कामको लागि बजेट रकमान्तर हुनुपर्ने वडा सदस्य सविन चालिसेले बताए । ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका जुन शिर्षकमा बजेट विनियोजन गरिएको छ । त्यही अनुसार सम्बन्धित काममा रकमान्तर गर्नुपर्ने हाम्रो माग हो ।’ चालिसेले भने, ‘तर, शिक्षाको बजेट स्वास्थ्य, स्वास्थ्यको पूर्वाधार जस्ता क्षेत्रमा रकमान्तर गर्न मिल्दैन भन्ने अडान लिएका हौं ।’
वीरेन्द्रनगर नगरपालिकाकाे कार्यपालिकामा कांग्रेसका २८ सदस्य छन् ।