दैलेख (महाबु)। दैलेखको महाबु गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९।०८० को सार्वजनिक सेवा प्रवाहका विषयमा आज सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।
स्थानीय सरकारबाट सञ्चालित सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी एवंम् जवाफदेही बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख अनिल पाण्डेले कार्यक्रम मार्फत जानकारी गराए ।
गाउँ कार्यपालिका कार्यालयले हालसम्म सम्पन्न गरेका योजनाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले संक्षिप्त जानकारी गराएका थिए । उनको जानकारी पछि कार्यक्रममा १६ जना सहभागीले पालिकाका पदाधिकारीप्रति प्रश्न तथा जिज्ञासा राखेका थिए ।
गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ, उपाध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डे, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय, ६ वटै वडाका अध्यक्ष तथा विषयगत शाखा प्रमुखहरु कार्यक्रमका जवाफदेही वक्ताको रुपमा रहेका थिए ।
वक्ताहरुले प्राविधिक लागत अनुमानका आधारमा मात्रै गाउँपालिकाका आगामी नीति तथा कार्यक्रमहरु तयार गरिने प्रतिवद्धता जनाए । प्रश्नकर्ताहरुले वितरणमुखी कार्यक्रमले नतिजा नदेखाएको गुनासो गरेका थिए । त्यसको जवाफ दिँदै आगामी दिनमा तोकादेशमा बजेट निर्माण नगरी प्राविधिक लागत अनुमान अनुसारको बजेट विनियोजन गरिने प्रतिवद्धता जनाएका हुन् ।
सबैले देखिने गरी नागरिक बडापत्र नराखिएको गुनासो आएपछि वक्ताहरुले आगामी एक महिनामात्रै डिजिटल सूचना पार्टी र नागरिक बडापत्र राखिने प्रतिवद्धता जनाए ।
गाउँपालिकाका विभिन्न स्थानहरुमा तार विस्तार भएपनि विद्युत सञ्चालन हुननसकेको जिज्ञासापछि वक्ताहरुले आगामी २ महिनाभित्र विद्युत सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकास्तरीय समिति गठन भएको जानकारी गराउँदै सो समितिको अनुगमन प्रतिवेदनका आधारमा शैक्षिक कार्यक्रम तयार गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
सडक मर्मत सम्भार कार्यमा अस्वभाविक खर्च देखिएको गुनासो गरेपछि वक्ताहरुले दशैंपछि आएको अविरल वर्षातका कारण दोहोरो मर्मत सम्भार गरिँदा खर्च बढेको प्रष्ट पारे । उनिहरुले आगामी दिनमा सार्वजनिक सेवा प्रवाहका विषयमा थप सुधारका प्रयासहरु थालिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महाबु गाउँपालिका दैलेखको आयोजना तथा प्रदेश विज्ञापन एजेन्सीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा भरत बहादुर शाही, लिलाराम बडुवाल, मीन प्रसाद न्यौपाने, कनक सेन, पुनम नेपाली, जयबहादुर सुनार, नरेश्वर जैशी, प्रताप बहादुर थापा, बलीप्रसाद उपाध्याय, भीम विष्ट, भीम बहादुर शाही, सर्वनन्द जैसी लगायतका सहभागीहरुले प्रश्न तथा जिज्ञासा राखेका थिए ।