सुर्खेत। निर्वाचन सम्बन्धि आयोगका कुनै निर्णयमा चित्त नबुझे पुनरावेदनका लागि अदालत जानसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार स्थानीय तह निर्वाचनको परिणाममा आफुलाई अन्याय परेको लागेमा उच्च अदालतमा उजुरी दिन सकिन्छ । त्यसरी उच्च अदालत सुर्खेतमा दर्ता भएका ४० प्रतिशत उजुरीहरु अझै फर्स्याेट हुन बाँकी छन् ।
गत बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सकिएको नौं महिना पुगिसक्दा पनि अदालतमा दर्ता उजुरीहरु फर्स्याेट हुन सकेका छैनन् । अदालतले न्याय सम्पादनमा ढिलाई गरेको महसुस भैरहेको उजुरीकर्ताको गुनासो छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ को वडाअध्यक्ष पदको पुनः मतगणनाको माग सहित उजुरी परेको छ । ‘बदर हुनुपर्ने मत गणना नगर्नका लागि भन्दाभन्दै बदर मतलाई सदर मानेर निर्वाचन परिणाम सुनाइयो ।’ उजुरीकर्ता कुलबहादुर खत्रीले भने, ‘निर्वाचन अधिकृतको उक्त निर्णयबाट आफुलाई अन्याय परेको ठानेर उजुरी दिएको हुँ ।’
मत गणनालाई निश्पक्ष बनाउनका लागि निर्वाचन आयोगले हरेक मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान गरेको थियो । मत गणनास्थलमा भएको हरेक गतिविधिलाई प्रमाणका रुपमा राख्न यसो गरिएको हो । अदालतले पनि त्यसैलाई प्रमुख प्रमाणका रुपमा लिने गरेको छ । तथापि, कतिपय मतगणनास्थलको सिसीटिभी फुटेज भेटिएको छैन । जसले गर्दा न्याय सम्पादन समेत प्रभावित भएको छ । सिसीटिभी फुटेज नभेटिनुले न्याय सम्पादनमा ढिलाई भएको अदालतको पनि स्वीकारोक्ती छ ।
‘मैले सिसीटिभीको फुटेज हेर्न माग गरेको छु ।’ निवेदक खत्रीले भने, ‘निर्वाचन कार्यालयले सिसीटिभी फुटेज राखिएको ड्राइभ नखुलेको जवाफ दिएको छ ।’
यस्तै, दैलेखको भैरबी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य पदका उम्मेदवार रहेका रामेश्वर जैसीले पनि पुनः मतगणनाको लागि निवेदन दिएका छन् । ‘मतगणना हुँदा मेरो पक्षमा चार सय ४२ मत थियो । नतिजा सुनाउँदा चार सय ३० मत सहित मलाई पराजित बनाइयो ।’ निवेदक जैसीले भने, ‘पुनः मतगणना गरी प्रष्ट पारिदिन माग गर्दै निवेदन दिएको हुँ ।’
यसरी मतगणनामा चित्त नबुझी पुनः मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा १६ वटा उजुरी दर्ता भएका थिए । ती उजुरीमध्ये ९ वटा फर्स्याेट भएका छन् भने ७ उजुरी अझै बाँकी रहेको अदालतका प्रवक्ता सरोजनिधी वाग्लेले जानकारी दिए । उनका अनुसार फर्स्याेट भएका ९ वटा उजुरीमा फिराददावी नपुग्दा तामेलीमा गएका छन् ।
उजुरीकर्ता हर्के बहादुर नेपाली, मेघराज सुनार, कृष्णकुमार ढकाल, डम्मर थापा, भद्रबहादुर बिष्ट, मुक्ति प्रसाद उपाध्याय, हर्क बहादुर शाही, धर्म बहादुर नेपाली र झक्कडबहादुर गुरुङले दिएका फिरादपत्रहरु तामेलीमा गएका हुन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार बसन्तकुमार शर्मा, दैलेखको नारायण नगरपालिका ३ का वडाअध्यक्ष पदका उम्मेदवार लक्ष्मीप्रसाद कोइराला सोही वडाका महिला सदस्य पदका उम्मेदवार टिकादेवी जैसी, दैलेखकै भैरवी गाउँपालिका ५ का वडासदस्य पदका उम्मेदवार रामेश्वर जैसी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष पदका उम्मेदवार कुलबहादुर खत्री र सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पदका उम्मेदवार ईन्द्रप्रसाद ढकाल र यामबहादुर बिकको उजुरी फर्स्याेट हुन बाँकी छन् ।
फर्स्याेट हुन बाँकी रहेका ती उजुरीसँग सम्बन्धित प्रमाणहरु झिकाइएको हुँदा अब केही महिनामै अन्तिम टुंगो लाग्ने प्रवक्ता वाग्लेले बताए । ‘सिसीटिभी फुटेज लगायतका प्रमाणहरु झिकाइएको छ । सबै उजुरीहरु अहिले पेशीमै छन् ।’ प्रवक्त वाग्लेले भने, ‘ढिलोमा दुई महिना भित्र उजुरीहरु फर्स्याेट हुन्छन् होला ।’