सुर्खेत । कर्णाली प्रदेशमा मन्त्री नियुक्तीबारे टुंगो लागेको छ । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार मन्त्री हुने व्यक्तिहरुको नाम टुंगो लागेको हो ।
नेकपा एमालेबाट विनोद कुमार शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जितबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीका लागि अघि सारिएको हो । शाह यसअघि पुस २८ गते नै विना विभागीय मन्त्री नियुक्त भै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए ।
यस्तै, माओवादी केन्द्रबाट मंगलबहादुर शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसीलाई आन्तरिक मामिला तथा कानून मन्त्री र भिम प्रकाश शर्मालाई भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा अघि सारिएको छ । साथै, उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत राज्यमन्त्रीमा नियुत्त गर्ने तयारी भएको छ ।
नाम टुंगो लागेसँगै मन्त्री नियुक्तीका लागि मुख्यमन्त्री राजकुमार शर्माद्वारा प्रदेश प्रमुखलाई सिफारिस गर्ने तयारी भैरहेको मुख्यमन्त्री स्रोतले जनाएको छ। यसपछि आजै साँझ ६ बजे मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ खुवाउने बताइएको छ ।