सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालय भागबण्डाको सहमति जुटेपछि आज मन्त्री नियुक्त गरिने मुख्यमन्त्री शर्माले जानकारी दिए ।
मंगलबार बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल गरेको थियो । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।
सहमति अनुसार दलहरूभित्र कसलाइ मन्त्री नियुक्त गर्ने भन्ने बारेमा छलफल छलिरहेकाे मुख्यमन्त्री शर्माले बताए ।
८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।
शर्मा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
शर्माले पुस २८ गते एमालेका विनोद कुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
यी हुन् मन्त्रीमा सम्भावित व्यक्ति
यसअघि एमालेका विनाेद कुमार शाह बिना विभागीय मन्त्री नियुक्त भैसकेका छन् । चर्चाअनुसार एमालेबाट जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल र डोल्पाका शेरबहादुर बुढा मन्त्रीका लागि सम्भावित छन् । तर, अन्य नेताहरुपनि मन्त्रीमा आकांक्षा राखेका छन् ।
माओवादीमा भने अधिकांश सांसदहरू मन्त्री बन्ने लाइनमा देखिएका छन् । अघिल्लो कार्यकालमा मन्त्री भइसकेका विन्दमान विष्ट र वीरबहादुर शाही मन्त्री बन्ने लाइनबाट बाहिर छन् । माओवादीले पहिला मन्त्री बनिसकेका भन्दा पनि नयाँलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने तयारी गरेको छ ।
माओवादीबाट कृष्ण जिसी, भीमप्रकाश शर्मा, उर्मिला विश्वकर्मा, दुर्ग रावत मन्त्रीका लागि सम्भावित व्यक्ति हुन् ।