सुर्खेत । कर्णाली प्रदेश सभाका स्वतन्त्र सांसद देवेन्द्र शाहीले दासत्व गराउने र गर्नेहरुका कारण आफुलाई अन्याय परेको बताएका छन् । शुक्रबार संसद बैठकमा बोल्दै शाहीले पार्टीभित्र दासत्व गर्ने, गराउनेका कारण अन्याय भएको हुँदा सभामुख र उपसभामुखको निर्वाचनमा सहभागी हुन नपाएको दुःखान्त व्यक्त गरे ।
सांसद शाहीले आफ्नो अंग–अंगमा कांग्रेस भएको बताए । ‘पद प्रतिष्ठाका लागि दल बदल गर्ने यही संसद हो । मेरा आदरणीय मतदाताहरु हुनुहुन्छ । त्यसैले मैले कुनैपनि निर्णय गर्न सक्दिनँ ।’ सांसद शाहीले भने, ‘दलभित्रका साथीले भनेजस्तो गर्ने काम नगर्नु होला । मेरा पीडा र भनाई सुनिदिनुपर्छ ।’
नीजि स्वार्थका लागि गरिएको गठबन्धन चाँडै टुंगिएको बताए ।
यस्तै, विकास निर्माणका सम्बन्धमा हरेक वर्ष विकास बजेट समयमा खर्च नहुने गरेको बताए । वडातहदेखि संघीय तहसम्म समन्वय गरिनुपर्ने बताए ।
‘माननीय भात खान, घुम्न आएका होइनन्, सरकारले काम दिनुपर्छ । जुम्ला जिल्ला वास्तविक राजधानी हुनुपर्ने जिल्ला हो । हिजोको खस राज्यको राजधानी हो ।’ सांसद शाहीले भने, ‘त्यसैले जुम्लालाई व्यापारिक केन्द्र वा शैक्षिक केन्द्रका रुपमा विकास गरिनुपर्छ ।’
कर्णाली सम्वृद्धका लागि सबै सांसदको एकपक्षमा हुनुपर्ने बताए ।
सांसद शाहीले मुख्यमन्त्रीको विश्वासको पक्षमा मत दिने बताए ।