सुर्खेत । नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टले कर्णाली जस्तो पिछडीएका प्रदेशका लागि प्रादेशिक संरचना चाहिएको बताएका छन् ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको छलफलमा दलको तर्फबाट आफ्नो भनाई राख्दै सांसद विष्टले संघीयताबारे प्रश्नहरु उठेपनि यसलाई जनताको अधिकार कार्यान्वयन गर्नका लागि कर्णालीलाई यो संरचना आवश्यक रहेको बताए ।
‘चालु आर्थिक वर्षको बजेट आफैले प्रस्तुत गरे । सम्मानित सदनबाट बजेट पास भयो । तर, संघीय सरकारबाट हाम्रो बजेटको आकार घट्नेगरी मन्त्रीपरिषदबाट निर्णय गरियो ।’ विष्टले भने, ‘प्रदेश सरकार स्वायत्त, छ आफ्नो नीति कार्यक्रम बजेट बनाउन सक्ने संवैधानिक परिकल्पना छ । तर, यसरी बजेट केन्द्रबाट घट्छ । संघीयताको दुरदशा भोग्नुपरेकोले अब कर्णालीले संघीयताबारे सबैभन्दा बढी वकालत गर्नुपर्ने अवस्था छ ।’
कर्णालीलाई अझ व्यवस्थित बनाउनेप्रति आफुहरु तत्पर भएर लाग्ने विश्वास दिलाउन चाहे । जनताको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने लगायतका विविध अभ्यासहरुलाई सफल पार्न मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिन सांसद विष्टले आग्रह गरे ।