सुर्खेत । नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले मन्त्री नियुक्त गर्न केन्द्रकै मुख ताक्ने मुख्यमन्त्रीले कसरी विकास गर्लान भन्दै प्रश्न उठाएका छन् । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शर्माले आफुलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाएका थिए । ती योजनाहरु सुन्दा आफु ‘कन्फुयुज’ भएको नेता शाहीले बताए ।
‘म कन्फ्युज भैरहेको छु । मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ ।’ शाहीले भने, ‘हप्ता दिनदेखि दुई जना मन्त्री विना विभागीय राख्नुभएको छ । मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरु पूरा गर्लान ?’
आफुलाइ विश्वासकाे मत दिन चाहना भएपनि संसदकाे बसाइ व्यवस्थापनका कारणले पनि विश्वासकाे मतकाे विपक्षमा मतदान गर्न बाध्य पारिएकाे शाहीले बताए । ‘मलाइ विश्वासकाे मत दिन मन छ । तर, म बस्ने सीट अगाडी विपक्षी दल लेखिएकाे छ । यस्ताे अवस्थामा मैले विश्वासकाे मत दिनुकाे के अर्थ?’ उनले भने, ‘मैले विश्वासकाे मत दिन त्याे लेखिएकाे वस्तु झिक्नुपर्छ ।’
उनले अहिलेका लागि मुख्यमन्त्री शर्माकाे सरकारका लागि विश्वासकाे मत पर्याप्त देखिएकाे हुँदा कांग्रेसले मत दिनुपर्ने अवस्था नभएकाेले विपक्षमा मतदान गर्ने बताए ।
साथै, उनले सरकार ढल्नुपर्ने अवस्था आएमा कुनैपनि बेला आफुहरू सहयाेग गर्न तयार रहेकाे प्रतिवद्धता व्यक्त गरे ।

 
         
         
         
         
         
         
         
        
