सुर्खेत । नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेश गर्न जाने तयारीमा छन् । अपरान्ह ४ बजेपछि प्रदेश प्रमुख समक्ष दावी पेश गर्न जाने तयारी भैरहेको शर्माले शिलापेपरलाई जानकारी दिए ।
प्रदेश प्रमुख तिलक परियारले आज अपरान्ह ५ बजेभित्र मुख्यमन्त्री दावी पेश गर्न समयावधि तोकेका थिए ।
शर्मालाई मुख्यमन्त्रीका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सहितको समर्थन रहने छ ।
कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १० र राप्रपाका १ जना सांसद रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले र राप्रपा गरी २४ सांसदको समर्थनमा मुख्यमन्त्री शर्मालाई अगाडी सारिएको हो ।
नेकपा एकिकृत समाजवादीका तर्फबाट समर्थन गर्ने वा नगर्ने भन्नेबारे छलफल भैरहेको समाजवादी पार्टीका सांसद कल्याणी खड्काले जानकारि दिइन् ।
राप्रपाले एक मन्त्रालय दावीसहित मुख्यमन्त्री समर्थन गर्न लागिएको जनाइएको छ । ‘केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्रीका लागि समर्थन गर्न लागिएको हो ।’ राप्रपा सांसद सन्तोषी शाहीले भनिन्, ‘औपचारिक निकर्ष आउन बाँकी नै छ ।’
नेकपा एमाले र माओवादी केन्द्रबीच आधा-आधा कार्यकाल सरकारकाे नेतृत्व गर्ने सहमति भएकाे छ । केन्द्रकाे भागबण्डामा माओवादीलाइ कर्णालीकाे मुख्यमन्त्री पाँच वर्ष पुर्णरूपमा दिने सहमति भएपनि प्रदेश तहमा त्यसका विपरित सहमति जुटेकाे हाे ।