सुर्खेत । कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल प्रदेश नामाकरण, राजधानी तोक्ने र राजनैतिक परिवर्तनमै सिमित रह्यो । पाँच वर्षको अवधिमा आधाभन्दा बढी समय सत्ता चलखेलमै बित्यो । सत्तामा पुग्ने चाहनाका कारण आफ्नै दलको नेतामाथी अविश्वासको प्रस्ताव खडा गरियो । परिणामस्वरुप प्रत्यक्षमा एक सिट पाएको कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पायो ।
राजनैतिक अस्थीरताका लिडर उतिबेला नेकपा एमालेका नेता यामलाल कँडेल थिए । नेकपा एकिकरण पछि भागबण्डाबाट फुत्किएका कँडेलले पटक–पटक आफू मुख्यमन्त्री बन्न अनेकौं तिकडम् गरे । तर, पाँच वर्षको अवधिमा उनको सपना पूरा हुन सकेन । मुख्यमन्त्रीका लागि संघर्ष गरेका नेता कँडेलले उतिबेला ‘अराजक बागी’को संज्ञा पाए ।
तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनले ल्याएको अविश्वासको प्रस्ताव र राजनैतिक परिवर्तनका दोषी कँडेललाई एमाले अध्यक्ष ओली, सुवास नेम्वाङ्ग लगायतको केन्द्रीय कमिटिले उक्त कार्यलाई ‘अराजक गतिविधि’ भनेको थियो ।
पहिलो कार्यकालमा मुख्यमन्त्री बन्न नपाएका कँडेल दोस्रो पटक पनि प्रदेश सभा सदस्य चुनिएका छन् । चुनावी परिणामपछि नेता कँडेलको मुख्यमन्त्री बन्ने आशा लगभग सकिएको थियो । तर, कांग्रेस–माओवादी लगायतको ५ दलीय गठबन्धनको विभाजन र एमाले–माओवादीको पुर्नमिलनपछि कँडेलको मुख्यमन्त्री हुने चर्चा सुरु भएको छ ।
दलीय हिसाबले प्रदेश सभामा नेकपा एमाले तेस्रो स्थानमा छ । प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १/१ जना र १ जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् ।
कर्णालीमा सरकार गठन गर्न २१ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा गरी २४ जना सासंदको समर्थन एक ठाउँमा हुनेछ । जसले गर्दा एमाले गठबन्धनको सरकार बन्ने छ ।
केन्द्रबाट प्रदेशमा हुने भागबण्डामा कर्णाली कसको भागमा पर्ने भन्ने कुनै टुँगो छैन । नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अडान लिँदै आएको छ । माओवादी केन्द्रबाट राजकुमार शर्मा र विन्दमान विष्टले आफ्नो दावी पेश गर्दै आएका छन् । माओवादी केन्द्रको संसदीय दलको नेता चयन गर्न मंगलबार बैठक बस्दैछ । माओवादी केन्द्रले कँडेललाई सहजै मुख्यमन्त्रीमा समर्थन नगर्ने देखिन्छ ।
नेता कँडेललाई दलको नेता बन्न पहिला जस्तो सहज छैन । यतिबेला एमाले कर्णाली प्रदेश अध्यक्ष समेत रहेका विनोद कुमार शाह पनि प्रदेश सभा सदस्य निर्वाचित छन् । शाहले आफु दलको नेता बन्ने दावी गर्दै आएका छन् । एमालेका १० सांसदमध्ये शाहलाई ६ सांसदको समर्थन हुने शाह निकट स्रोतको दावी छ ।