सुर्खेत । मानव सेवा आश्रमले मानवताका लागि सांगितिक यात्रा ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न लागेको छ । पुस ६ गते (बुधबार) वीरेन्द्रनगरको खुलामञ्चमा कन्सर्ट आयोजना गरिएको हो ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले अक्षयकोष स्थापनार्थ सो कन्सर्ट सञ्चालन गरेको हो । मानव सेवा आश्रमले देशभरका १० ठूला शहरमा कन्सर्ट आयोजना गरेको छ । सोही अनुसार सुर्खेतमा ७ औं कन्सर्टका रुपमा बुधबार आयोजना गर्दैछ ।
मानव सेवा आश्रमको भवन निर्माण तथा बचत संकलन रकम भवन निर्माण कार्यका लागि अक्षयकोष स्थापना गर्न लागिएको आश्रमले जनाएको छ । आश्रममा संरक्षित व्यक्तिहरुको दीर्घकालिन मानवोचित व्यवस्थापन एवम् स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागिएको नेपथ्य लाईभ कन्सर्ट मूल समिति संयोजक टिकाराम चपाईले जानकारी दिए ।
कन्सर्टमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवतामा प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत हुनेछन् ।
सुर्खेतस्थित मानव आश्रम अहिले वीरेन्द्रनगर १२ स्थित घर भाडामा लिई सेवा सञ्चालन गरेको छ । हाल उक्त आश्रमको संरक्षणमा ४२ पुरुष २९ महिला र ४ बच्चा गरि ७५ संख्यामा सहयोगापेक्षी व्यक्तिहरु रहेका छन् ।
सुर्खेतमा सञ्चालन हुने कन्सर्टका लागि सोमबार साँझसम्म करिब ४५ सय टिकट विक्रि भैसकेको छ । यसका लागि ५५ सय टिकट विक्रि हुने अपेक्षा गरिएको
छ ।
कन्सर्ट प्रवेशका लागि एक हजार रुपैयाँ टिकट शुल्क राखिएको छ ।