सुर्खेत । भेरी नदी किनारको सिटी हल नजिकैको खुल्ला मैदान दर्शक र दर्शनार्थीले भरीभराउ थियो । नेपाली कांग्रेसका उपसभापति, पूर्व गृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का अचानक मेलामा देख्दा दर्शक र दर्शनार्थीको तालीको गडगडाहट सुनियो ।
हरेक वर्ष यहाँ पूर्णिमाको मेला लाग्छ । सुभाघाट मेलाका नामले चर्चित यो मेलाको उद्घाटन गर्न उपसभापति खड्का आफ्नो व्यस्त कार्यव्यवस्तताका बाबजूत काठमाडौंबाट हेलिकोप्टरमा मेहलकुना आइपुगेका थिए । मेलामा उपस्थित दर्शक र श्रद्धालुहरुसँग भेटघाट गरे ।
उपसभापति खड्कालाई अचानक मेलामा देखेपछि दर्शकहरु हर्षित देखिन्थे । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले अचानक कार्यक्रम बनेकाले उपस्थित दर्शक र मेला भर्न आउने दर्शनार्थीहरुलाई खवर गर्न नपाएको बताए ।
उपसभापति खड्काले मेलामा सहभागी हुन पाउँदा आफू खुशी भएको बताए । ‘यो मेलाको छुट्टै संस्कृति छ, छुट्टै इतिहास छ, भेरी किनारको मेला भनेपछि हजारौं हजारको उपस्थित हुनुहुन्छ,’ उपसभापति खड्काले भने, ‘अर्को वर्ष फेरि हजारौंको बीचमा नाच्ने गरेर म फेरि आउँछु ।’ उपसभापति खड्काले मेला अवलोकन गर्नुका साथै नजिकैको पर्यटकीय क्षेत्र खटाङमा तीन तिरबाट झोलुङ्गे पुल बनाउने गरेर आफू काममाडौंबाट आएको बताए । खड्काले मेलामा दर्शक र दर्शनार्थीसँग भेटघाट गर्नुका साथै सुभाघाट मेलाको अवलोकन पनि गरे ।
भेरी किनारमा हरेक वर्ष लाग्ने मेला भर्न सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट दर्शनार्थी आउँछन् । मेलामा आउने भक्तजन मेला मात्रै भर्दैनन् सांस्कृतिक कार्यक्रम र किनमेलमा पनि सहभागी हुने अवसर पाउँछन् । मेलामा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहन्छ । ‘मेलामा आउनेले शुभाघाटको दर्शनसँगै किनमेल र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती पनि हेर्न पाउनुहुन्छ,’ मेला आयोजना गरेको गुर्भाकोट–८ का वडाध्क्ष किरण विकले भने, ‘ ‘यो पटकको मेला एक लाखबढीले अवलोकन गर्ने अपेक्षा लिएका छौं ।’