बर्दिया। नवनिर्वाचित कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बर्दियालाई कर्णालीसँग जोडिने गरी विकास गरिनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशको बर्दियास्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन् ।
उनले कर्णाली सभ्यतासँग बर्दियाको अटुट सम्बन्ध रहेको प्रष्ट पार्दै अबको विकास मोडलबाट समेत कर्णालीमा जोडिनुपर्ने बताए । ‘हाम्रा हरेक सभ्यता, परम्परा, रितीरिवाज बर्दिया र कर्णालीका जिल्लासँग मेल खान्छन् ।’ सांसद भण्डारीले भने, ‘भूगोल फरक भएपनि अब सभ्यताले जोडिएको बर्दिया र कर्णालीबीचको सम्बन्धलाई विकास मोडेलबाट पनि जोडिनुपर्छ । त्यसका लागि पहल हुन जरुरी छ ।’