सुर्खेत। समाजसेवी जयन्ती थापाले साझाघरका बालबालिकालाई नयाँ कपडा उपहार दिएकी छन्। साझाघरमा आश्रीत बालबालिकालाई दशैंको अवसरमा मंगलबार नयाँ कपडा उपहार दिएकी हुन्।
थापाले ५४ जना बालबालिकालाई करिब २५ हजार बराबरको कपडा वितरण गरेको बताईन्। समाजसेवी थापा अमेरिकामा बस्दै आएकी छन्। थापाको सहयोगमा उनका पिता धर्मजंग थापा र माता पार्वती थापाले बालबालिकालाई कपडा हस्तान्तरण गरेका हुन्।
साझा घरमा आश्रीत बालबालिकाका लागि दशैं मनाउन लुगा वितरण गर्न पाएको छोरीको कार्यले आफुलाई समेत आनन्दित बनाएको जयन्तीका पिता धर्मजंग थापाले बताए।
दशैं धनिहरुका लागि मात्र नभई गरिब र असहायहरु सबैका लागि बराबर भएर आउन सक्यो भने दशैंको महत्व बढ्न सक्छ। हुने खानेहरु जहिलेपनि दशैं झैँ भोजन गर्छन भने हुँदा खानेहरुले मीठो खानका लागि दशैं कुर्नुपर्ने अवस्था अझैपनि जस्ताको त्यस्तै छ। गरिब र असहाय बालबालिकाहरुलाई पनि नयाँ नानामा रमाउने मन हुन्छ भन्ने बुझेर आफूले आफ्नो कमाईको केही प्रतिशत छुट्याएको रकमबाट उनीहरुलाई सहयोग गर्न पाएकोमा आफूलाई पनि दशैं आए जस्तो महसुस भएको जयन्तीले बताइन्।
थापाले सुर्खेत, रुकुम, कैलाली तथा चितवन लगायतका जिल्लाहरुमा असहाय बालबालिकाहरुको शिक्षा–दिक्षाको समेत जिम्मा लिएकी छन्।
विशेष गरि दैविप्रकोपमा परेका, आपतविपतमा परेकाहरुलाई समेत सहयोग गर्दै आइरहेकी छन्। पछिल्लो समयमा भाषा, साहित्यको क्षेत्रमा समेत जयन्तीले सहयोग गरिरहेको उनका पिता धर्मजंग थापाले बताए।