सुर्खेत। आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम सिफारिस गरेका छन्। दैलेख क्षेत्र नं. २ प्रदेश सभा क्षेत्र (क) मा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका पाँच जना सिफारिस भएका छन्।
घनश्याम भण्डारी, मातृका प्रसाद रिजाल, झक्क विष्ट, धिरेन्द्र सापकोटा र प्रकाशमान भण्डारी सिफारिस भएका छन्। कांग्रेसको क्षेत्रीय कार्य समितिले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। उम्मेदवार सिफारिस भएकामध्ये घनश्याम भण्डारी निर्वाचनका लागि बलियो सम्भावित उम्मेदवार मानिन्छन्। उनि यसअघि दुल्लु नगरपालिकाको मेयरमा निर्वाचित थिए। २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा भण्डारीले ६ हजार ३ सय ४९ मत लिई विजय भएका थिए। नगरमा एमालेका बहुमत सदस्य विजय हुँदा युवापंक्तिको साथ पाएपछि भण्डारी मेयर विजय भएका थिए। उनै भण्डारीको भुमिकाबाट २०७९ को स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिका र भैरबी गाउँपालिका नेपाली कांग्रेसले विजय हासिल गरेको छ।
जिल्लामा पार्टीभित्र संस्थापन पक्षको नेतृत्व गरिरहेका भण्डारी २ कार्यकाल क्षेत्रीय सभापति बन्दै १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा झिनो मतान्तरले पराजित भए। भण्डारीको नेतृत्वदायी क्षमताका कारण पार्टीपंक्तिमा संस्थापन पक्षको विश्वासिलो पात्र भएकोले उम्मेदवारको लागि उपयुक्त भएको उहाँ निकट स्रोतको दावी छ।
‘राजनीतिक नेताहरुको कार्यशैलीले जनतामाझ वितृष्णा जागिरहेको समयमा भण्डारी यूवाहरुबीच आशाको दीयो बनेर देखा परेका छन्।’ स्रोतले भन्यो, ‘जनप्रतिनिधीको रुपमा पहिलो कार्यकाल नगरप्रमुख हुँदैगर्दा उनले सुरुवात गरेका कामले दुल्लूनगरपालिकामा विकासको जग स्थापना भएको छ।’
नगरप्रमुख भएर काम गर्दा जनताको आकांक्षालाई सम्बोधन गरेकोले आफ्नो पक्षमा जनमत रहेको भण्डारीको दावी छ।
उम्मेदवार सिफारिस भएका झक्क विष्ट २०४७ नेविसंघको राजनीति सुरुवात गरेका हुन्। उनि सशस्त्र द्वन्द्वका घाइते समेत हुन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन प्रतिनिधी हुन्। कांग्रेस पार्टीमा सक्रिय राजनीति गर्दैगर्दा कुनैपनि लाभको पदमा नपुगेकोले यसपटक पार्टीले विश्वास गरेमा आफु उम्मेदवार बन्नसक्ने विष्टको भनाई छ।
भण्डारीसँगै उम्मेदवार सिफारिस भएका मात्रिका रिजाल पनि सम्भावित उम्मेदवार हुन्। रिजाल संस्थापनईत्तर पक्षबाट नेतृत्व गर्छन्। उनी पार्टीको १३ र १४ औं महाधिवेशनमा क्षेत्रीय सभापति पराजित बने। स्थानीय तह निर्वाचन २०७९ मा मेयर आकांक्षी बनेका रिजाल आफुले टिकट नपाएपछि पार्टीको आधिकारीक उम्मेदवारलाई असहयोग गरेको कार्यकर्ताको आरोप छ।
साथै, प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका धिरेन्द्र सापकोटा पार्टीको १४ औं महाधिवेशन प्रतिनिधी हुन् भने प्रकाशमान भण्डारी पार्टीको १४ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन प्रतिनिधी हुन्।
२०६१ को माओबादी बिरुद्धको दुल्लु बिद्रोहका कारण माओवादीको जनाधार कमजोर छ। दुल्लु र भैरबी दुइवटै पालिका काङग्रेसले जितेकोले समाजवादीको उपस्थिती कमजोर रहेको छ। यसपटक हुने निर्वाचनमा एमाले र काङग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ।