सुदूरपश्चिम। अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्। जयसरा गाउँपालिका अध्यक्ष मानबहादुर साउँदकी श्रीमती हुन्। साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भएकाे थियाे।
भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए।
‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरन्जित गरी जनस्तराटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख छ।
३१ हजार छ सय ३० रूपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्। अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।