काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली झन्डै ६ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग चार वटा विषय राखेका छन्।
पहिलो, आगामी निर्वाचनका सम्बन्धमा । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा ओलीले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्।
दोस्रो, शान्ति प्रक्रियाबारे तार्किक निष्कर्षमा पुगोस् भन्ने कुरा पनि ओलीले प्रधानमन्त्रीसँग राखेका छन्। सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो। सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको पनि एमालेले बताउँदै आएको थियो।
तेस्रो, राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राखेका छन्।
ओलीले प्रधानमन्त्री देउवासँग राखेको अर्को विषय हो– मूल्यवृद्धि। दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको आरोप एमालेको छ। ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन्।
भेटवार्तामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।