सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको एकाघरका आश्रित परिवारमध्ये दुई जनालाई एक महिना भित्र रोजगारी दिने सहमति भएको छ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र परिवारबीच शुक्रबार भएको वार्ताका क्रममा उक्त सहमति भएको हो।
डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो। एक महिना भित्र उनीहरुलाई रोजगारीमा लगाउने सहमति भएको हो।
यस्तै परिवारले माग गरेको २५ लाख रुपैयाँ क्षतीपूर्ति उपलब्ध गराउन मन्त्रालयले कर्णाली प्रदेशको मन्त्रिपरिषदमा प्रस्ताव लिने भएको छ। लामिछानेका एक जना छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति पनि भएको कार्यालयले जनाएको छ।
सहमतिपछि शव पोष्टमार्टमका लागि शुक्रबार नै कर्णाली प्रदेश अस्पतालमा पठाईएको थियो। पोष्टमार्टमपछि आफन्तले शनिबार शव बुझ्नेछन्।
डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा आरोपितको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति पनि गठन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेका छन्। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।
बिहिवार बेलुका वन सम्बन्धि मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि परिवार तथा आफन्तले पहिलो दिन कार्यालयमै पुगेर आन्दोलन गरेका थिए।
बिहिबार डिभिजन वन कार्यालय सुर्खेतमार्फत् पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय लामिछानेको कार्यालयमा पुर्याउने बित्तिकै मृत्यु भएको थियो।
आफन्तले पक्राउ गर्नेहरुबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा वन कार्यालयका चार जनाविरुद्ध किटानी जाहेरी पनि आफन्तले दिएका छन्।
डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरु पिउसराज तिवारी र सुरेन्द्र रानाविरुद्ध किटानी जाहेरी परेको हो। उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मदन भण्डारी राजमार्गमा पर्ने सुर्खेतको जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेका थिए। आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुण्ड्याएर राखेको आरोप लगाउँदै आएका छन्।