सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले ४ जनाविरुद्व किटानी जाहेरी दिएका छन्। सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएकाे मृतकका आफन्तले बताए।
मृतक लामिछाने वन सम्बन्धि मुद्दामा बिहिवार पक्राउ परेका थिए। वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय लामिछानेको वन कार्यालय पुर्याएपछि मृत्यु भएको थियो। उनको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै किटानी जाहेरी दिएका हुन्।
साेही विषयमा छानविनका लागि समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि पाँच सदस्यीय छानविन समिति गठन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाईएको हो। छानविन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेको प्रजिअ रिजालले बताए।
उक्त समितिले घटनाको बारेमा छानविन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।
डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।
सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो। ‘आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो, पछि आरोपित मानिस पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरुले उहाँलाई पक्राउ गरी ल्याएका हुन्।’ डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने।
कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेको उनले बताए। आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुण्ड्याएर राखेको आरोप लगाएका छन्।
किटानी जाहेरी दिइएका केही मानिसलाई नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत एक जना फरेस्टर र दुइ जना वन रक्षक नियन्त्रणमा लिईएको प्रहरी स्रोतले जनाएको छ।