सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सुर्खेत–नेपालगञ्ज राजमार्ग अवरुद्ध गरेका छन्। भेरीगंगा–५ का स्थानीयले नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गअन्तर्गत बबई क्षेत्रमा सडक अवरुद्ध गरेपछि मालबाहक तथा सवारी साधन रोकिएका छन्।
बर्दीया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको मृत्यु भएपछि स्थानीयले विभिन्न मागसहित सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन्। आइतबार चन्द र वलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो।
मानवीय क्षति पुर्याउन जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका हुन्। स्थानीयसँग समन्वय गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।